अपाङ्गता भएका महिला तथा किशोरीको अपाङ्गता मैत्री प्रजनन स्वास्थ यौनिकता तथा सुरक्षित मातृत्व सम्बन्धि राष्ट्रिय परामर्श कार्यशाला

Posted on: 27/05/2025
अपाङ्गता भएका महिला तथा किशोरीको अपाङ्गता मैत्री प्रजनन स्वास्थ यौनिकता तथा सुरक्षित मातृत्व सम्बन्धि राष्ट्रिय परामर्श कार्यशाला

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालद्वारा आयोजित र VSO तथा UK Aid को सहयोगमा मिति ६ चैत्र २०८१ (19th March, 2025) काठमाडौंमा “अपाङ्गता मैत्री प्रजनन स्वास्थ्य, यौनिकता र सुरक्षित मातृत्व” सम्बन्धी राष्ट्रिय परामर्श कार्यशाला काठमाडौंमा सम्पन्न भयो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली प्रमुख अतिथि रहनुहुन्थ्यो भने महासंघ नेपालकी अध्यक्ष निर्मला धितालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भयो। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा अपाङ्गता अधिकार प्रवर्धन शाखाकी प्रमुख कमला घिमिरे, VSO नेपालकी प्रतिनिधि शिखा श्रेष्ठ, आइपास नेपालका नीति तथा स्वास्थ्य प्रणाली प्रमुख डा. दिब श्रेष्ठ डंगोल, र नेपाल अपांग महिला संघकी अध्यक्ष मीना पौडेललगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि समावेशी, सुरक्षित र पहुँचयोग्य प्रजनन स्वास्थ्य तथा मातृत्व सेवा आवश्यक रहेकोमा जोड दिए। उपसचिव घिमिरेले यस विषयमा सरकारले नीतिगत र कानुनी आधार तयार गरिरहेको जानकारी दिइन्। VSO नेपालले आगामी दिनमा पनि यस्ता प्रयासहरूमा सहकार्य गर्न प्रतिवद्धता जनाएको छ।

कार्यशालामा अपाङ्गता भएका महिलाको स्वास्थ्य अधिकारमाथि केन्द्रित प्यानल छलफल सम्पन्न भयो, जसमा नेपाल प्रहरी अस्पतालकी डा. उषा श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका डा. केदार मरहट्टा, महिला, कानून र विकास मञ्च नेपालका नबिन श्रेष्ठ, नेपाल परिवार नियोजन संघका डा. प्रविन शाक्यलगायतले धारणा राखे।

त्यस्तै, सहभागी समूहहरूबीच समुहगत छलफल गरी नीतिगत सिफारिसहरूसहित प्रस्तुति पनि गरिएको थियो। अपाङ्गता भएका महिला तथा किशोरीहरूका अधिकारका सवालमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको यस कार्यशालालाई आयोजकहरूले नीति निर्माणका लागि कोशेढुंगा भएको विश्वास व्यक्त गरेका छन्।

महासंघ नेपालकी महासचिव रमा ढकालका अनुसार यो कार्यक्रमले अपाङ्गता भएका महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्रवर्द्धन गर्न ठोस आधार तयार गरेको छ।

magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram